नियम १०
जाँचबुझ गराउने

(१) कुनै निर्वाचन क्षेत्र वा मतदान केन्द्रमा निर्वाचनको कुनै काम वा मतदानको कामको स्वच्छता, स्वतन्त्रता वा निष्पक्षतामा असर पु¥याउने काम भएको सम्बन्धमा नियम ९ बमोजिम उजुरी प्राप्त भएमा वा त्यस्तो कुराको जानकारी आयोगलाई प्राप्त भएमा सो सम्बन्धमा आयोगले ऐनको दफा ९ को उपदफा (१) बमोजिम जाँचबुझको लागि समयावधि तोकी कुनै आयुक्त, सचिव वा अन्य कुनै अधिकारीलाई खटाउन सक्नेछ ।

(२) उपनियम(१) बमोजिम जाँचबुझको लागि खटिएको कुनै आयुक्त, सचिव वा अधिकारीले त्यस्तो विषयमा जाँचबुझ गर्दा देहाय बमोजिमका कार्य गर्न सक्नेछः–

(क) घटनास्थलको निरीक्षण तथा विषयवस्तुसँग सम्बन्धित भौतिक प्रमाण सङ्कलन गर्ने,

(ख) घटनाको विषयमा प्रत्यक्ष रुपमा जानकारी पाउने व्यक्तिसँग सोधपूछ गर्ने,

(ग) घटनासँग सम्बद्ध राजनीतिक दल, उम्मेदवार वा व्यक्तिसँग सोधपूछ गर्ने,

(घ) निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, मतदान अधिकृत तथा सम्बन्धित अन्य कर्मचारीसँग घटनाको विषयमा जानकारी लिने,

(ङ) घटना वा विषयको सत्यतथ्य पत्ता लगाउन आवश्यक पर्ने अन्य कार्यगर्ने ।

(३) उपनियम (१) बमोजिम जाँचबुझको लागि खटिएको कुनै आयुक्त, सचिव वा अधिकारीले उपनियम (२) बमोजिम प्राप्त गरेको जानकारी एवं प्रमाण समेतको विश्लेषण गरी आयोगले तोकेको समयभित्र प्रतिवेदन बुझाउनु पर्नेछ ।

(४) उपनियम (३) बमोजिमको प्रतिवेदनबाट कुनै निर्वाचन क्षेत्र वा मतदान केन्द्रमा निर्वाचन वा मतदानको कामको निष्पक्षता वा स्वतन्त्रतामा असर पुर्याउने काम भएको कुरामा आयोग विश्वस्त भएमा आयोगले सो कुरा खुलाई त्यस्तो निर्वाचन वा मतदानको काम रद्द गर्न सक्नेछ ।

(५) उपनियम (४) बमोजिम कुनै निर्वाचन वा मतदान रद्द भएमा त्यस्तो स्थानमा प्रचलित कानून बमोजिम निर्वाचन अधिकृतले पुन मतदान हुने व्यवस्था मिलाउनु पर्नेछ ।